खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ ११, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ११ माघ, विराटनगर ।
  • नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारी तीव्र बनाएका छन् ।
  • उनले क्षेत्रको समग्र विकास, सुशासन, पारदर्शिता र जवाफदेही राजनीतिक संस्कृतिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताएका छन् ।

 

११ माघ, विराटनगर ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारी तीव्र बनाएका छन् । उनले क्षेत्रको समग्र विकास, सुशासन, पारदर्शिता र जवाफदेही राजनीतिक संस्कृतिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताएका छन् । पूर्व जनप्रतिनिधिका रूपमा काम गर्दा हासिल गरेको अनुभवले आफूलाई थप परिपक्व र जिम्मेवार बनाएको फागोको भनाइ छ । उनले कोरोना महामारीको कठिन समयमा उर्लाबारी नगरपालिकामा रहेर जनताको सेवामा खटिँदा भोगेका संघर्ष र चुनौतीहरूलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण पाठका रूपमा स्मरण गरे ।

‘लकडाउनको बेला लौरो टेक्दै घर–घर पुग्यौं। ३३ सयभन्दा बढी घरधुरीलाई खाद्यान्न, औषधि र पोषणयुक्त आहार वितरण गरियो,’ फागोले भने, ‘त्यो कुनै प्रचारका लागि होइन, जनप्रतिनिधिको कर्तव्य ठानेर गरिएको काम हो ।’ कोरोना कालमा आफूविरुद्ध विभिन्न मुद्दा खेप्नुपरेको स्वीकार गर्दै फागोले त्यसले राजनीतिक रूपमा असर पारे पनि जनताको सेवाबाट आफू विचलित नभएको दाबी गरे। ‘तीन दर्जनजति मुद्दा लागे, तर तीन वर्ष जनताकै पक्षमा उभिएर इमानदारीपूर्वक काम गरें,’ उनले भने। आफ्नो कार्यकालका उपलब्धिहरू उल्लेख गर्दै फागोले नगरपालिकाको संरचना निर्माण, वडागत विकास, सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, विश्व बैंकका कार्यक्रम कार्यान्वयन, इलाका प्रशासन कार्यालय स्थापना तथा ५४ वटा ऐन, कार्यविधि र निर्देशिका निर्माणलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे।

आगामी दिनमा प्रतिनिधिसभामा पुगेपछि कानुन निर्माणलाई प्राथमिकता दिँदै विधि–विधान सुदृढीकरण, शिक्षा र स्वास्थ्य सुधार, आर्थिक गतिविधि विस्तार तथा भौतिक पूर्वाधार विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। उम्मेदवारी पार्टीको निर्णयअनुसार आएको उल्लेख गर्दै उनले कांग्रेस पार्टी एकताबद्ध भएर निर्वाचनमा जाने बताए। ‘जित मेरो व्यक्तिगत विषय होइन, यो सामूहिक प्रयासको नतिजा हो,’ फागोले भने, ‘मनमुटाव र गुटबन्दीले कार्यकर्ता कमजोर बनाउँछ, त्यसैले सल्लाह, समन्वय र सहकार्यकै बाटो रोज्छौं ।’ चुनावी खर्चमा मितव्ययिता अपनाउने स्पष्ट संकेत दिँदै फागोले यसपटक तडक–भडकभन्दा जनतासँग प्रत्यक्ष संवादमा जोड दिने बताए। ‘राजनीतिमा ढाँट्न जान्दिन। कर, जिम्मेवारी र इमानदारीका साथ काम गर्नु नै मेरो शैली हो,’ उनले स्पष्ट पारे। नेपाली कांग्रेस रूपान्तरणको प्रक्रियाबाट नयाँ ऊर्जा र आत्मविश्वाससहित अघि बढिरहेको दाबी गर्दै फागोले यसले सकारात्मक चुनावी परिणाम ल्याउने विश्वास व्यक्त गरे। जनताको समस्या समाधान र क्षेत्रको दीर्घकालीन विकास नै आफ्नो राजनीतिक उद्देश्य रहेको उल्लेख गर्दै उनले मोरङ–१ का मतदाताको विश्वास जित्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?