नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष २८, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र लिम्बुवान क्रान्तिकारी पार्टी तथा जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल) का एक समूहबीच पार्टी एकता तथा समायोजनसम्बन्धी सहमति भएको छ ।
  • नेकपा र मनिष लिम्बू ‘हेल्लोक’ नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टीबीच सम्पन्न सहमति अनुसार लिम्बुवानको पहिचानसम्बन्धी मुद्दालाई नेकपाको आन्तरिक जनवादको प्रक्रिया अन्तर्गत छलफल र बहसमार्फत टुंगो लगाइने भएको छ ।

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र लिम्बुवान क्रान्तिकारी पार्टी तथा जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल) का एक समूहबीच पार्टी एकता तथा समायोजनसम्बन्धी सहमति भएको छ । नेकपा र मनिष लिम्बू ‘हेल्लोक’ नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टीबीच सम्पन्न सहमति अनुसार लिम्बुवानको पहिचानसम्बन्धी मुद्दालाई नेकपाको आन्तरिक जनवादको प्रक्रिया अन्तर्गत छलफल र बहसमार्फत टुंगो लगाइने भएको छ । साथै, लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका समितिहरूलाई सम्मानपूर्वक नेकपामा समायोजन गर्ने सहमति गरिएको छ ।

उक्त सहमति पत्रमा लिम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिष लिम्बू ‘हेल्लोक’ र नेकपाका सहसंयोजक माधव कुमार नेपाल तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् । यसैगरी, नेकपा र जसपा, नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल थापा मगरको नेतृत्वमा रहेको समूहबीच पनि पार्टी एकीकरणसम्बन्धी सहमति सम्पन्न भएको छ । सहमतिअनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्रको पक्षमा सडक, सदन र सरकार तीनै क्षेत्रमा संघर्ष जारी राखिने उल्लेख गरिएको छ । सहमति पत्रमा समाजवादका लागि नेपालको मौलिक विशेषता, संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य गर्दै समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, शिवलाल थापा मगरको नेतृत्वमा रहेका जसपा, नेपालका केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका तहका नेता–कार्यकर्ताहरूलाई आपसी सहमतिका आधारमा नेकपामा समायोजन गर्ने निर्णय भएको छ ।

समायोजन कार्यक्रममा बोल्दै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पक्षमा पुनः ठूलो जनमत तयार हुने विश्वास व्यक्त गरे । उनले गुठी आन्दोलन, सहकारी पीडितहरूको आन्दोलन तथा खोला किनारमा बसोबास गर्ने जनताका समस्या जस्ता आन्दोलनसँग लामो समयदेखि जोडिएका व्यक्तिहरू नेकपामा समाहित हुन थालेको उल्लेख गर्दै यसले राजधानीदेखि सबै प्रदेशसम्म नयाँ उत्साह र जिज्ञासा पैदा गरेको बताए ।
‘अरू ठूला भनिएका दलहरू विभाजनतर्फ गइरहेका बेला हामी एकताको प्रक्रियामार्फत राष्ट्रिय शक्तिहरूलाई जोड्दै समाजवादी आन्दोलनको यात्रालाई गम्भीरताका साथ अघि बढाइरहेका छौं,’ दाहालले भने, ‘आउँदो निर्वाचनसम्म आइपुग्दा नेकपा अपेक्षा गरिएभन्दा फरक र बलियो शक्तिका रूपमा स्थापित हुने विश्वास छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?