नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३० कात्तिक, काठमाडौं ।
  • आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ८९.
  • ६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

३० कात्तिक, काठमाडौं ।

आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार निर्यात व्यापार बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने नेपालको निर्यात व्यापारमा ६.१ प्रतिशतले कमी आएको थियो ।

गन्तव्य मुलुकका आधारमा भारत तर्फको निर्यात १३७.९ प्रतिशत र अन्य तेस्रो मुलुकतर्फको निर्यात ३.८ प्रतिशत बढेको छ भने चीनतर्फको निर्यात ६६.१ प्रतिशतले घटेको छ । वस्तुगत रूपमा हेर्दा भटमासको तेल, पाम तेल, जुटका उत्पादन, अलैंची, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात उल्लेखनीय रूपमा बढेको छ । त्यसैगरी जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र पिनालगायतका वस्तुको निर्यात भने घटेको देखिएको छ । यही अवधिमा कुल वस्तु आयात १९.८ प्रतिशतले बढेर ४६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ४.२ प्रतिशतले घटेको थियो । मुलुकगत आधारमा भारतबाटको आयात ७.५ प्रतिशत, चीनबाटको ३३.४ प्रतिशत तथा अन्य मुलुकबाटको आयात ४६.५ प्रतिशत वृद्धि भएको छ ।

वस्तु आयाततर्फ भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायात उपकरण, मोटर सवारी तथा स्पेयर पाट्र्स, दूरसञ्चार उपकरण आदिको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन र पेट्रोलियम पदार्थको आयात घटेको छ । निर्यातभन्दा आयातको वृद्धि दर उच्च रहेकाले कुल व्यापार घाटा १२.२ प्रतिशतले बढेर ३९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ४.० प्रतिशतले घटेको थियो । यस अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ९.८ प्रतिशतभन्दा उल्लेखनीय रूपमा उच्च हो । यसबाहेक समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानीमार्फत ४० अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको ४४ अर्ब १३ करोड रुपैयाँको आयातभन्दा केही कम हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?