भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
सारांश
- १ जेठ, भोजपुर ।
- भोजपुरको रामप्रसादराई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ।
- स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो।

१ जेठ, भोजपुर ।
भोजपुरको रामप्रसादराई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ। स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो। हेर्दा नै अनौठो लाग्ने यो स्थानले धेरैको मन लोभ्याउने गर्दछ। भौगोलिक रुपमा विकट क्षेत्रमा रहेकोले यो स्थान देश विदेशमा परिचित बन्न नसकेको स्थानीयबासी अनिल राईले बताए।

यहाँ रहेका ढुङ्गामा विभिन्न देवी देवताको आकृति देख्न सकिने उनको भनाइ छ। त्योसँगै यो स्थल अवलोकनको क्रममा विभिन्न आश्चर्यजनक ठाउँहरुसमेत हेर्न सकिने उनले जानकारी दिए। ‘चुलाचुली गुफा हेर्दा नै आश्चर्यजनक स्थल देखिन्छ’ उनले भने, ‘सायदै नेपालमा यस्ता ठाउँ कमै होलान्। यहाँका ढुङ्गामा प्राकृतिक रुपमा कुदिएका विभिन्न देवी देवताको आकृति देख्न सकिन्छ। ढुङ्गाहरुमा मादलको झै आवाज आउछ। यहाँ दर्शन गरे मनोकाङ्क्षा पुरा हुने धार्मिक विस्वास पनि छ।

तर यो स्थान ओझेलमा परेको अवस्था छ।’ डाँडामा रहेको यो स्थानको करिव दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गाहरु खोलाका बगर झै कुदिएका छन्। गुफा भित्र शिव तथा विभिन्न देवीदेवताको मूर्तीसँगै, हात्ती जस्तो सुडो, गाईको थुन, नाँगको चित्रलगायतको आकृति रहेको स्थानीयबासीको भनाइ छ। यहाँ राम नवमी, नयाँ वर्षलगायत विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयबासी विनोद राईले बताए।



प्रतिक्रिया