भदौ २४ गतेको तोडफोडमा जिल्ला प्रशासन कार्यालय, मालपोत, आन्तरिक राजस्व, अदालत, सरकारी वकिल, पूर्वाधारलगायतका दर्जन बढी कार्यालय जलेका थिए । प्रहरी चौकी तथा कार्यालयमा आगजनी गरिएको थियो । जिल्लाका ७ पालिकामध्ये माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा तोडफोड र आगजनी गरिएको थियो । जिल्लाका सरकारी कार्यालयहरुले क्षतिको विवरणसहित फोटो भिडियो पठाएर तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुको पहिचान र कारबाहीको लागि लेखी पठाएका छन् । निजी घर तोडफोड र आगजनी भएकाका घरधनीहरूले पनि उजुरी दिएका छन् । प्रहरीले तोडफोड र आगजनीमा संलग्न जोकोही भए पनि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउने एसपी पुरीले बताए ।

पक्राउ परेकाहरूलाई छाड्न भनेर कसैले दबाब नदिन पनि उनले आग्रह गरे । ‘पक्राउ परेको मान्छे कुन कुन ठाउँमा गएको छ, उसको संलग्नता कस्तो छ, भूमिका के छ भन्ने बारेमा हेरेर, अनुसन्धान गरेर मात्रै प्रहरीले मुद्दा दर्ता गर्छ’, एसपी पुरीले भने, ‘केही अपराधिक काममा लागेका ब्यक्ति फरार छन् तिनलाई पनि पक्राउ गर्छौं ।’ चितवन प्रहरीले २४ गतेको घटनापछि २५ गते समुदायमा गएर तर्साउने, हातहतियार लिएर हिँड्ने, अराजकता फैलाउने ११ जनालाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुलाई अभद्र व्यवहारमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी पुरीले जानकारी दिए । जेनजी आन्दोलन पछि समाजमा आतंक फैलाउने, तर्साउने, मोटरसाइकलको स्वरुप परिवर्तन गरि ठूलो आवाज निकालेर हिँड्ने व्यक्ति तथा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । कात्तिक महिना लागेको पछि ६१ वटा मोटरसाइकलसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल मोडिफाइ गर्ने ३ जना वर्कसप सञ्चालक पनि पक्राउ परेका छन् ।


प्रतिक्रिया