रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा ३० जना घाइते

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • २० असार, इटाली ।
  •   इटालीको राजधानी रोमको एक पेट्रोल पम्पमा शुक्रबार भएको भीषण विस्फोटमा परी कम्तीमा ३० जना घाइते भएका छन् ।
  • घटनास्थलको निरीक्षण गर्दै रोमका मेयर रोबर्टो ग्वाल्टिएरीले नौ जना कानून प्रवर्तन अधिकारीसहित अन्य २१ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको बताउनुभएको छ ।

२० असार, इटाली । 

इटालीको राजधानी रोमको एक पेट्रोल पम्पमा शुक्रबार भएको भीषण विस्फोटमा परी कम्तीमा ३० जना घाइते भएका छन् । घटनास्थलको निरीक्षण गर्दै रोमका मेयर रोबर्टो ग्वाल्टिएरीले नौ जना कानून प्रवर्तन अधिकारीसहित अन्य २१ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको बताउनुभएको छ ।  ग्वाल्टिएरीले स्थानीय समयअनुसार बिहान ८ः२० बजे भएको विस्फोटपछि छिमेकी भवनहरू खाली गराइएको बताउनुभयो । ती भवनमा बालबालिकाको ग्रीष्मकालीन शिविर आयोजना गर्ने खेल हलसहित ‘ठूलो क्षति’ भएको बताउनुभएको छ ।

बच्चाहरूलाई पहिल्यै सुरक्षित स्थानमा लगिएको कारण थप धेरै मानवीय क्षति हुन पाएन ।  ग्वाल्टिएरीका अनुसार इन्धन भर्ने क्रममा ग्यास चुहिएपछि आगो लागेको थियो । घटनास्थलमा आपतकालीन सेवाहरू तत्काल पुगेका र विस्फोट हुँदा उद्धार कार्य जारी थियो । “विस्फोट वास्तवमै शक्तिशाली थियो। मैले सपनामाजस्तै आफ्नो छाला जलिरहेको महसुस गरें,” स्पोट्र्स सेन्टरमा काम गर्ने २३ वर्षीया मिचेल सेकोले एएफपीसँग भनिन् । अनलाइनमा शेयर गरिएको मोबाइल फोन फुटेजमा आकाशमा ठूलो आगोको गोला खसेको र त्यसपछि पूर्वी रोमको प्रेन्सटिनो क्षेत्रमा कालो धुवाँ फैलिएको देखिएको छ । एएफपीका संवाददाताहरुका अनुसार यो आवाज शहरमा टाढासम्म सुनिएको थियो र शहरका झ्यालहरु समेत हल्लिएका थिए । खेल केन्द्रका प्रमुख बाल्जानी फाबियोले पहिलो आगलागी बिहान ७ः३० बजेदेखि ७ः४० को बीचमा सुरू भएको थियो । यदि आगलागी अर्को केही समय (४५ मिनेट) पछि भएको भए यसले विनाशकारी नतिजा ल्याउनसक्ने थियो ।

उहाँले एएफपीसँग भन्नुभयो, “यदि यो घटना बिहान ८ः३० बजे वा पछि भएको भए यो नरसंहार र विपत्तिको कारण हुने थियो ।” उहाँका अनुसार बिहान ८ः३० बजे केन्द्रमा ग्रीष्मकालीन शिविरका लागि करिब ६० जना बालबालिका आउने अपेक्षा गरिएको थियो भने करिब १२० जना बालबालिकालाई स्विमिङ पुल प्रयोगका लागि बुकिङ गरिएको थियो । अग्निनियन्त्रकहरूको १० वटा टोली पेट्रोल पम्प रहेको घटनास्थलमा पठाइएको थियो । पम्पमा गाडीको इन्धन र तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) दुवै उपलब्ध थियो । अग्नी नियन्त्रकले सामाजिक सञ्जालमा कालो र मुस्लोको झोका सतहदेाि माथि आकाशमा पुगेर फैलिएको भिडियो पोस्ट गरेका छन् । यसैबीच, प्रधानमन्त्री जियोर्जिया मेलोनीले आफूले परिस्थितिलाई नियालिरहेको र अधिकारीलाई आवश्यक निर्देशन दिएको बताउनुभएको छ ।  उहाँले एक्समा लेख्नुभएको छ, “म घाइते भएका सबैसँग दुःखको यस घडीमा समवेदनना व्यक्त  गर्दछु र कानून प्रवर्तन अधिकारी, अग्निनियन्त्रक र स्वास्थ्यकर्मीसहित उद्धार र सुरक्षा कार्यमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन्छु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?