
विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ । साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ । जात्राको अन्तिम दिन आज (बुधबार) पनौतीबासीले पुण्यमती र रोशमती (रोशी) नदीको संगममा स्नान गर्दछन् । दुई नदीको संगमस्थलमा स्नान गर्नाले कुनै पनि रोग नलाग्ने विश्वास छ । स्नानपछि ब्रह्मायणी र इन्द्रेश्वर महादेवलाई लायकु दरबार परिसरमा ल्याई भद्रकाली, भैरव र महादेवको रथ एकापसमा जुधाइन्छ । भद्रकाली र उन्मत्त भैरवको रथ तीन पटक तथा भद्रकाली र महादेवको रथ चार पटक जुधाउने प्रचलन छ । तीन वटा रथ एक आपसमा जुधाई जात्रा मनाउने प्रचलनलाई श्रृष्टि चलाउन यौनकर्म अनिवार्य रहेको र उक्त यौनकार्य मर्यादित, नैतिक र स्वच्छ हुनुपर्छ भन्ने सन्देश बोकेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्य बताउँछन् ।

जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने (रोपाइँ शुरु गर्ने) परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् ज्याःपुन्ही पनि भनिन्छ । जात्रा अवधिभर वर्षा शुरु हुने किंबदन्ती छ । पनौतीको जात्रा पनौतीको १२ वर्षे मकर मेलासँग पनि सम्बन्धित रहेको इन्द्रेश्वर महादेव मन्दिरका पुजारी रमेश जंगमले जानकारी दिए । किवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा शुरु गरिएको मानिदै आएको छ ।


प्रतिक्रिया