एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै
सारांश
- २४ जेठ, काठमाडौं ।
- उड्नका लागि वेगले दौडिरहेको विमानमा झ्याप्प ब्रेक लगाउनुपरे के होला?
- त्यो विमानले फेरि सोही गति समात्न कति समय लाग्ला?
२४ जेठ, काठमाडौं ।
उड्नका लागि वेगले दौडिरहेको विमानमा झ्याप्प ब्रेक लगाउनुपरे के होला? त्यो विमानले फेरि सोही गति समात्न कति समय लाग्ला? नेकपा एकीकृत समाजवादी पार्टी यतिबेला यही द्विविधामा देखिन्छ। एमाले फुटाएर माधवकुमार नेपाल–झलनाथ खनालले स्थापना गरेको यो पार्टीले तीन वर्षको अवधिमा संगठनलाई देशव्यापी बनाएको थियो। तर, अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेपछि एकीकृत समाजवादीको गति ठप्प भएको छ। मुद्दा लागेपछि अब उनले अध्यक्ष र संसदीय दलको नेताको पद छोड्नुपर्नेछ।

किनकि, मुद्दा दायरसँगै सांसदबाट निलम्बित भइसकेका उनले सार्वजनिक पदमा समेत रहन पाउने छैनन्। यद्यपि, उनलाई पार्टी काममा सक्रिय हुन, संगठन गर्न, कार्यकर्ताले बोलाएका ठाउँमा भेटघाट गर्न र राजनीतिक विचार दिन कसैले छेक्न सक्दैन। तर, उनको राजनीतिक भूमिका भने हुने छैन। १६ वर्षअघि पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिएर त्यसको दुई महिनामै फेरि बेच्न निर्णय गराएर आर्थिक अपचलन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ। यसले एकीकृत समाजवादीको पार्टी जीवनमा निकै ठूलो असर गर्ने नेताहरू बताउँछन्। अब एकीकृत समाजवादीले पार्टीको नियमित काम/काबाहीका लागि कार्यवाहक तोक्नुपर्ने हुन्छ। दलको नेता पनि बनाउनुपर्ने हुन्छ।




प्रतिक्रिया