प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको विवरण अनिवार्य, गलत भए कारबाही

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक २८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २८ कात्तिक, प्रेस काउन्सिल नेपालले फेसबुक पेजमाथि निगरानी थालेको छ ।
  • सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो ।
  • नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रस्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपिल जारी गरेको हो ।

 

२८ कात्तिक, प्रेस काउन्सिल नेपालले फेसबुक पेजमाथि निगरानी थालेको छ । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो ।

नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रस्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपिल जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ । सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको उल्लेख छ ।

सञ्चार माध्यमअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल एवम् फेसबुक पेज)बाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको र अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट/अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गर्ने गरिएको काउन्सिलले जनाएको छ । पछिल्लो समय कतिपय सामाजिक सञ्जाल (युट्युब/फेसबुक पेज) बाट प्रचलित कानुनअनुसार दर्ता भइ स्थापित सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

सञ्चार माध्यमको विश्वास नगर्न, अहिले सामाजिक सञ्जाल नै आधिकारिक माध्यम हुन् भन्ने जस्ता भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ, त्यसमा उल्लेख छ । सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ । सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको छ । काउन्सिलले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको काउन्सिलले जनाएको छ ।

मिडियाको आवरणमा रहेका पेज, ग्रुपसहितमा आबद्ध व्यक्तिहरूले विज्ञापनका लागि अनावश्यक दबाब दिने, अन्य ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा वा विज्ञापन दिन अस्वीकार गरेमा त्यस संस्था, कम्पनी एवम् व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई मिथ्या सूचना प्रकाशन/प्रसारण गर्ने गरेको भनी गुनासाहरू प्राप्त भइरहेका छन् । यस्ता गतिविधिहरूलाई तत्काल रोक्न प्रेस काउन्सिल सम्बद्ध सबैलाई सचेत गराउन चाहन्छ, विज्ञप्तिमा भनिएको छ । सामाजिक सञ्जालले सत्य, तथ्य एवम् सन्तुलित सूचना प्रवाह गर्न सके मात्र यसप्रति जनविश्वास बढ्छ । ‘कुनै सूचना प्रकाशित गर्नुअघि विश्वसनीयताको परीक्षण गर्नुपर्दछ ।

आफूले सम्प्रेषण गरेका सामग्रीउपर हुने विचार वा कमेन्टहरूबाट सिर्जित परिस्थितिको सार्वजनिक एवम् कानुनी जबाफदेहिता पनि स्वयम् सञ्चार माध्यम एवम् सम्बद्ध सामाजिक सञ्जालको हुनेतर्फ काउन्सिलले सजग समेत गराएको छ । आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ । सामाजिक सञ्जालहरू पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरू आफै हट्दै जानेछन्,’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको धारणा छ ।  प्रेस काउन्सिलले लागु गरेको कार्यविधिमा आमसञ्चार माध्यमले झैँ सामाजिक सञ्जाल (युट्युब च्यानल तथा फेसबुक पेजहरू)ले सञ्चालक र कार्यालय ठेगानासहित पूर्ण विवरण खुलाउनुपर्ने प्रस्ट उल्लेख गरेको छ ।

कानुनी प्रक्रिया पूरा नगरी चलाएका सञ्जालबाट सम्प्रेषित सामग्रीबाट प्रचलित कानुन उल्लङ्घन भए आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ । विज्ञप्तिमा सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै  संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आम सञ्चारमाध्यमको प्रतिबद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवम् क्रियाशील भएको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
संघीय निजामती विधेयकबारे प्रचण्ड– समितिमा सहमति भएका विधेयकमा छेडखानी नहोस्
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल