पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
सारांश
- १६ चैत, काठमाडौं।
- सरकारले लोकतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व गरेका र जीवित अवस्थामा रहेका सबै ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु गरेको छ ।
- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, डा.
१६ चैत, काठमाडौं।
सरकारले लोकतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व गरेका र जीवित अवस्थामा रहेका सबै ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा छानबिन गर्ने प्रक्रिया थालको हो । यसै गरी मधेसवादी नेताहरू तथा पूर्वमन्त्रीहरू उपेन्द्र यादव, शरदसिंह भण्डारीलगायत नेताको पनि सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले प्रधानमन्त्रीको आदेशअनुसार नै पूर्व ६ जना प्रधानमन्त्रीसहित २३ जना उच्चपदस्थहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गर्ने गृहकार्य अघि बढाइएको जानकारी दिए । ‘अब सीआईबीमार्फत सबै पूर्वप्रधानमन्त्री र उनीहरूका आफन्तहरूको सम्पत्ति छानबिन गर्ने प्रायोजनका लागि छिटोभन्दा छिटो पक्राउ पुर्जी जारी गरिनेछ’ –प्रहरी प्रधान कार्यालयका ती उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने । प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री बालेनले प्रहरी महानिरीक्षक तथा प्रहरीका उच्च अधिकारीहरूलाई कडा निर्देशन दिँदै छिटोभन्दा छिटो सबैजना पूर्व प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाउन निरन्तर दबाब र निर्देशन दिँदै आइरहनुभएको छ । प्रधानमन्त्रीको उक्त निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सीआईबीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धानलाई तीव्र बनाउन निर्देशन दिएको छ । सोहीअनुसार सीआईबीले अदालतबाट पक्राउ पुर्जी लिनका लागि आवश्यक कागजी प्रक्रिया अघि बढाइएको जनाएको छ । स्रोतका अनुसार, प्रारम्भिक चरणमै करिब २३ जना प्रभावशाली नेता तथा व्यक्तिविरुद्ध पक्राउ अनुमति माग्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्रीको लगातार दबाबका कारण सीआईबीले यो प्रक्रिया अघि बढाएको हो । सोहीअनुसार सीआईबीले कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई आइतबार बिहान पक्राउ गरी अनुसन्धान थालिसकेको छ । त्यसै गरी अब सम्पत्ति शुद्धीकरणमा पूर्व प्रधानमन्त्रीहरू देउवा, ओली, प्रचण्ड, भट्टराई, खनाल र नेपाल तथा पूर्वमन्त्रीहरू यादव र भण्डारी पनि छिट्टै पक्राउ पर्ने सम्भावना देखिएको छ । उहाँहरू सबैमाथि छिट्टै पक्राउ पुर्जी जारी हुने प्रहरीका ती अधिकारीले स्पष्ट पारे । सबैजना पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न प्रधानमन्त्री बालेनले प्रहरी नेतृत्वलाई लगातार दबाब दिन थालेपछि प्रहरीभित्र केही सकस देखिन थालेको छ । यद्यपि, प्रधानमन्त्रीको आदेश पालना गर्नुपर्ने भएकाले सीआईबीमार्फत सबै पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा एकसाथ छानबिन हुने प्रहरी प्रधान कार्यालयका ती अधिकारीले बताए । पूर्वप्रधानमन्त्रीहरू अनुसन्धानको दायरामा तानिए राजनीतिक वृत्तमा ठूलो हलचल हुने देखिएको छ ।

विगतमा शक्ति र पहुँचका आधारमा वर्षौंसम्म कानुनी घेराभन्दा बाहिर बसेका नेताहरूले अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने सरकारको अनुमान छ । त्यसैले सरकारले २०४६ सालपछिका सबै उच्चपदस्थ पदाधिकारी र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरिसकेको छ । भदौ २४ मा भएको विध्वंसकारी घटनापछि विभिन्न नेताको घरमा पैसा जलेको भिडियोहरू सार्वजनिक भएका केही दृश्यहरूले यो कारबाहीको आधार तयार पारेको प्रहरीको दाबी छ । त्यसक्रममा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाको घरमा पैसाहरू जलेको थियो भने पूर्वप्रधामन्त्री प्रचण्डको घर र उहाँकी पुत्री गंगा दाहालको घरमा समेत ठूलो परिमाणमा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले गंगा दाहालको घरमा पैसा जलेकाले गंगामाथि पनि अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।
पैसा जलेको घटनालाई आधार मानेर सीआईबीले ती व्यक्तिहरूको सम्पत्तिको स्रोत खोजी गर्ने, अवैध ठहर भए जफत गर्ने र आवश्यक परे सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत मुद्दा चलाउने योजना अघि सारेको जनाएको छ । सीआईबीका अधिकारीहरूका अनुसार, प्रारम्भिक अनुसन्धानमै शंकास्पद आर्थिक कारोबार, अकस्मात् बढेको सम्पत्ति र आयस्रोतसँग नमिल्ने लगानीका प्रमाणहरू फेला पर्न थालेका छन् । यसले राजनीतिक नेतृत्वको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
यता, हाल उपचारका लागि विदेशमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु देउवालाई समेत अनुसन्धानका लागि नेपाल फिर्ता बोलाउने तयारी सरकारले गरेको छ । उहाँहरू स्वैच्छाले उपस्थित नभए अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिएरसमेत नेपाल ल्याइने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ । कानुनी विज्ञहरूका अनुसार, यदि अनुसन्धान निष्पक्ष र प्रमाणमा आधारित भएर अघि बढ्यो भने यसले नेपालमा राजनीतिक उत्तरदायित्व र पारदर्शिताको नयाँ अध्याय सुरु गर्न सक्छ । तर, प्रक्रिया राजनीतिक प्रभावबाट मुक्त रहन नसके यसले न्याय प्रणालीप्रतिको विश्वासमा गम्भीर आघात पु¥याउने चेतावनी पनि उनीहरूले दिएका छन् ।नेपाल समाचार पत्र
प्रतिक्रिया