गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ४ जेठ, विराटनगर ।
  • मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी र जनप्रतिनिधिबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ ।
  • अध्यक्ष माझीले ग्रामथान वडा नम्बर २ का वडाध्यक्ष यादव खतिवडालाई ‘ठिक पारिदिने’ भन्दै भौतिक आक्रमण गर्नेसम्मको धम्की दिएपछि विवाद फेरि चुलएिको हो ।

 

४ जेठ, विराटनगर ।

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी र जनप्रतिनिधिबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ । अध्यक्ष माझीले ग्रामथान वडा नम्बर २ का वडाध्यक्ष यादव खतिवडालाई ‘ठिक पारिदिने’ भन्दै भौतिक आक्रमण गर्नेसम्मको धम्की दिएपछि विवाद फेरि चुलएिको हो । यसअघि, माझीको कार्यशैलीप्रति असन्तुष्ट जनप्रतिनिधिले पटकपटक कार्यपालिका बैठक बहिस्कार गरेका थिए ।

पछिल्लोपटक माझीले वडाध्यक्ष खतिवडालाई धम्की दिएपछि नेकपा (एमाले) मोरङले विरोध गरेको छ ।माझी उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा निर्वाचित भएका हुन् । यादव एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए । खतिवडाले वडाहरूमा दिने भुक्तानी रोकिएको विषयमा दबाब दिएपछि उनीमाथि भौतिक आक्रमणको धम्की आएको एमाले मोरङले जनाएको छ । भुक्तानी दिन भन्दै वडाहरूले वैशाख ३० गते दबाबमूलक कार्यक्रम गरेका थिए । अध्यक्ष माझीले स्थानीय स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा वडाध्यक्ष खतिवडालाई सार्वजनिकस्थलमै गालीगलौज गरेका थिए ।

अध्यक्ष माझी, गयालाल माझीसहितका व्यक्तिले कार्यक्रमस्थलमा पसेर आफूलाई ‘ठेगान लगाइदिने’ धम्की दिएको खतिवडा बताउँछन् ।एमाले मोरङका अध्यक्ष अजम्बर राईले एक विज्ञप्तिमार्फत वडाध्यक्षलाई धम्की दिने काम भएकाले जिउधनको सुरक्षा माग गरेका छन् । उनी धम्की दिने कार्यमा संलग्नलाई कानुनी कारबाहीको मागसमेत गरेका छन् । यसअघि, खोला ठेक्का र वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको विषयमा उच्च अदालत विराटनगरमा रिट परेको थियो । ती निर्णय कार्यान्वयन नगराउन अदालतले आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?