प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
सारांश
- १४ चैत, सर्लाही ।
- मधेश प्रदेश सरकारको निर्णयअनुसार सर्लाही जिल्लास्थित प्रादेशिक अस्पताल मलगंवालाई ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गरिएको छ।
- बिरामीहरूको बढ्दो चाप, गुणस्तरीय स्वास्थ्य सेवा आवश्यकताको माग तथा क्षेत्रीय स्वास्थ्य सुविधाको विकासलाई मध्यनजर गर्दै अस्पतालको स्तरोन्नति गरिएको हो।

१४ चैत, सर्लाही ।
मधेश प्रदेश सरकारको निर्णयअनुसार सर्लाही जिल्लास्थित प्रादेशिक अस्पताल मलगंवालाई ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गरिएको छ। बिरामीहरूको बढ्दो चाप, गुणस्तरीय स्वास्थ्य सेवा आवश्यकताको माग तथा क्षेत्रीय स्वास्थ्य सुविधाको विकासलाई मध्यनजर गर्दै अस्पतालको स्तरोन्नति गरिएको हो।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न प्रसाद सिंहले अस्पतालको स्तरोन्नतिसँगै आवश्यक स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, स्तरोन्नतिपछि अस्पतालको सेवा विस्तार, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव न्यूनीकरण तथा पूर्वाधार सुदृढीकरणमा सरकार प्रतिवद्ध छ।
प्रादेशिक अस्पताल मलंगवाका व्यवस्थापन समितिका अध्यक्ष सतिश कुमार साहका अनुसार अस्पतालको क्षमता विस्तारसँगै विशेषज्ञ डाक्टर, अत्याधुनिक उपकरणको प्राथमिकता दिइनेछ। अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले थप स्वास्थ्यकर्मीको नियुक्ति गरिनेछ भने भौतिक संरचनाहरूलाई पनि आधुनिक स्वरूप प्रदान गरिनेछ।

अस्पतालको स्तरोन्नतिसँगै सर्लाही तथा आसपासका जिल्लाका नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ। बिरामीहरूलाई सहज, सुलभ र प्रभावकारी उपचार सेवा प्रदान गर्न अस्पताल व्यवस्थापन प्रतिबद्ध रहेको अस्पतालका मेसु सन्जिव सिंहले बताउनुभयो। मधेस प्रदेशका अस्पतालहरुको स्तरोन्नतिका लागि मधेस प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री बिरेन्द्र सिंहले सम्मेत प्रतिवद्धता जनाउनुभएको थियो।


प्रतिक्रिया