भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टेल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन ६, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • ६ फागुन, काठमाडौं ।
  • भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका छन् ।
  • घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यहार भोग्नु परेकाले उनीहरुले पुनः होस्टेल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे सर्तहरु अघि सारेका छन् ।

६ फागुन, काठमाडौं ।

भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यहार भोग्नु परेकाले उनीहरुले पुनः होस्टेल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे सर्तहरु अघि सारेका छन् ।

ती यसप्रकार छन् :- 

१. न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।

२. प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।

३. पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्छ ।

४. नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।

५. विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ ।

६. सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्छ ।

७. विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ ।

८. कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।

नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि विरोध प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुलाई छानीछानी आक्रमण गरिएको उनीहरुको गुनासो छ । आज बिहान पनि होस्टेलमा बसिरहेका केही नेपाली विद्यार्थीहरुलाई बाउन्सर जस्ता देखिने भारतीय व्यक्तिहरुले कुटपिट गरेको उनीहरुले बताएका छन् ।

एक नेपाली विद्यार्थीले भनेका छन्, ‘आज बिहान करिब ८ बजे १०–१२ जना गुण्डा जस्तो देखिने बाउन्सरहरू केपी ८ ए, केपी ८ बी/सी र केपी २६ मा रहेका नेपाली विद्यार्थीहरूको कोठामा जबरजस्ती प्रवेश गरे । उनीहरूले नेपाली हो ? भनेर सोधे र नेपाली भएको पुष्टि भएपछि निर्ममतापूर्वक कुटपिट गरे ।’

‘ती आक्रमणकारीले नेपाली विद्यार्थीहरूलाई दुई–तीन मिनेटमै सामान प्याक गर्न आदेश दिँदै ढिलाइ गरे थप आक्रमण गर्ने धम्की दिए’ उनले भने, ‘फोनमा कुरा गरिरहेका विद्यार्थीहरूको मोबाइल खोसेर इन्स्टाग्राम, ह्वाट्सएका फोटो तथा म्यासेजहरू चेक गरे । जसले फोन दिन अस्वीकार गरे, उनीहरूलाई कुटपिट गरे ।’

लम्सालको मृत्यु भएको विषय सार्वजनिक भएलगत्तै गम्भीर छानबिन माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन थालेका थिए । त्यसपछि नेपाली विद्यार्थीहरु दुर्व्यवहार र आक्रमणको निशानामा परेका हुन् । यसअघि सेक्युरिटी गार्डजस्ता देखिने केही व्यक्तिहरुले एकजना विद्यार्थीलाई कुटपिट गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।

यी घटनाका प्रमाणहरू सुरक्षित राख्न र सत्य उजागर गर्न नेपाली विद्यार्थीहरुले १७ फेब्रुअरी २०२५ को बिहान ७ बजेदेखि १२ बजेसम्मको अवधिका केपी ८ ए, केपी ८ ब्लक सी र बी तथा केपी २६को सीसीटीभी फुटेज हेर्न दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुलाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?