मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • २८ फागुन,हेटौँडा ।
  • मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकार स्वरूप प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
  • बुधबार राति करिब ९ बजेको समयमा नेपाल प्रहरी गस्तीमा रहेका बेला सामान्य विवाद हुँदा शनिश तितुङ नाम गरेका व्यक्तिले अचानक बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि साङ्घातिक हमला गरेका थिए ।

२८ फागुन,हेटौँडा ।

मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकार स्वरूप प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । बुधबार राति करिब ९ बजेको समयमा नेपाल प्रहरी गस्तीमा रहेका बेला सामान्य विवाद हुँदा शनिश तितुङ नाम गरेका व्यक्तिले अचानक बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि साङ्घातिक हमला गरेका थिए ।

हमलापछि प्रतिकार स्वरूप असई दिलबहादुर तामाङले एक राउन्ड गोली चलाएका थिए। उक्त गोली तितुङको कोखामा लागेर उनी घाइते भएका छन् । घटनाका क्रममा तितुङले प्रहार गरेको बन्चरो लागेर असई तामाङको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई तत्काल एम्बुलेन्समार्फत हेटौँडास्थित चुरे हिल अस्पताल ल्याइएको थियो। गोली लागेका तितुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ भने घाइते प्रहरी असई तामाङको उपचार चुरे हिल अस्पतालमै भइरहेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् । घटनापछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको सुरक्षा टोली अस्पताल पुगेको थियो । टोलीले घाइते प्रहरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?